
पोखरा । १८ औँ संस्करणको आहा ! रारा गोल्डकपमा साविक विजेता थ्री स्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । गोल्डकपको तेस्रो क्वाटरफाइनलमा सोमबार गान्टोक सिटी एफसी भारतलाई पाखा लगाउँदै थ्री स्टार सेमिफाइनल प्रवेश गरेको हो ।
सोमबार पोखरा रङ्गशालामा भएको खेलमा गान्टोक सिटीलाई थ्री स्टारले ३–० गोल अन्तरले पराजित ग¥यो । थ्री स्टारको जीतमा सन्जोग राईले एक गोल गर्दा सुसन श्रेष्ठले २ गोल गरे । खेलको ७८ औँ मिनेटमा सन्जोगले दिपेश घलेको पासमा बललाई जाली चुमाएका थिए । यस्तै खेलको अतिरिक्त समयमा सुसनले २ गोल गर्दै थ्री स्टारको जीत सुनिश्चित गरे ।
अब थ्री स्टारले सेमिफाइनलमा नेपाल पुलिस क्लबसँग खेल्नेछ । पुलिसले क्वाटरफाइनलमा घरेलु क्लब सहारालाई टाई ब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको थियो । थ्री स्टार र पुलिसको खेल फागुन २८ गते बुधबार हुनेछ ।
यसअघि आइतबार भएको दोस्रो क्वाटरफाइनलको खेलमा मनाङ मस्र्याङ्ग्दी क्लबले झापा–११ लाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । पहिलो क्वाटरफाइनलमा भने पुलिस सहारा माथि हावी भएको थियो ।
सहारा क्लबको आयोजना र रारा चाउचाउको प्रायोजनमा फागुन २२ देखि चलिरहेको प्रतियोगिता चैत १ गते सम्म चल्नेछ । १० टोलीको सहभागिता रहेको प्रतियोगितामा विजेता टोलीले १० लाख १ हजार रुपैँया पुरस्कार पाउँदा उपविजेताले ५ लाख १ हजार पाउनेछ ।
