वडा नम्वर २३ मेलमिलाप केन्द्र स्थापना

Share:

पोखरा। पोखरा महानगरपालिका वडा नम्वर २३ मा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । स्थानीय तहका विवाद मेलमिलापक मार्फत समाधान गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको हो । केन्द्रको पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले शुक्रबार उद्घाटन गरिन् । केन्द्र उद्घाटनपछि बोल्दै उपप्रमुख गुरुङले न्यायिक समिति नयाँ भएकाले सवै नागरिकले यसका बारेमा जानकारी राख्नुपर्नेमा जोड दिइन् । उनले देश संघीय ब्यवस्थामा गएपछि स्थानीय तहमा न्यायपालिकाको रुपमा न्यायिक समितिको ब्यवस्था संविधानले गरेको बताउदै सवै काम अदालती प्रक्रिया अनुसार हुने बताइन् । अदालती प्रक्रियामा समितिले काम गर्छ तर इजलासमा वकालत गर्न कुनै वकिल हुदैन् उनले भनिन्, ‘विवादका दुवै पक्षले आआफनो कुरा राख्ने हो र विवाद दर्ता गर्दा लाग्ने एक सय रुपैयाँ बाहेक अरु कुनै पनि शुल्क लाग्दैन् । यसले सहज रुपमा विवाद समाधान हुने भएकाले नागरिकको आर्थिक र समयको बचत हुन्छ ।’

विवाद समाधानको उत्तम उपाय मेलमिलाप भएको बताउदै उनले–‘मुद्धा मार्मिलाले समाजमा अशान्तिको वातावरण सृजना हुने भएकाले वडा तहका विवाद मेलमिलाप मार्फत समाधान गर्दा समाजमा सद्भाव कार्यम हुन्छ ।’ अदातली प्रक्रियामा झन्झटिलो र नागरिकलाई आर्थिक बोझ पर्ने भएकाले वडा तहबाटै विवादको समाधान गर्न मेलमिलाप केन्द्रको स्थापना गरिएको बताइन् । उनले सवै प्रक्रिया पुरा गर्दा वडा तहमा मेलमिलाप केन्द्र स्थापनामा ढिलाई भएको समेत बताइन् ।

कार्यक्रममा मादी गाँउपालिका उपाध्यक्ष विष्णुमाया पौडेल आचार्यले न्यायिक समिति नयाँ संरचना भएकाले काम गर्न कठिन भएको बताइन् । कानूनी प्रक्रिया, कर्मचारीको ब्यवस्थापनका कारण अझै केही समस्या रहेको छ उनले भनिन्, महानगरमा सहज भएपनि गाँउपालिकाहरुमा न्यायिक समितिको कार्यसम्पादनमा असहज रहेको बताइन् । उनले स्थानीय तहका विवाद समाधानका लागि न्यायिक समितिको अवधारणा उत्तम भएको बताइन् ।

न्यायिक समिति सदस्य किशोर बरालले न्यायिक समिति गठन, समितिको क्षेत्राधिकार, समितिले हालसम्म गरेका काम र आगामी योजनाका बारेमा जानकारी गराएकी गराए । उनले न्यायिक समितिले १३ वटा विवाद फैसला गर्न पाउने र ११ वटा विवादमा मेलमिलाप गराउन सक्ने व्यवस्था संविधानले गरेको बताउदै न्यायिक समितिको अधिकार क्षेत्र र मेलमिलापकर्ताको काम,कर्तब्य र अधिकार बारे स्पष्ट पारेका थिए । न्यायिक समिति सदस्य पार्वती कार्कीले मेलमिलापकर्ताले निष्पक्ष भएर काम गर्नुपर्नेमा जोड दिइन् । पोखरा वडा नम्वर २३ का अध्यक्ष विष्णुप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका पोखरा २३ का वडा समिति उपाध्यक्ष धनबहादुर गुरुङ, नेकपा २३ का अध्यक्ष चेतबहादुर क्षेत्री, मेलमिलापकर्ता बिमला गुरुङ घले, महागनरका कानुन अधिकृत राममणी अधिकारी लगायतले कसैलाई भेदभाव नगरी सवैको साथ र सहयोग लिएर मेलमिलापकर्ताले काम गर्नुपर्नेमा जोड दिए ।

कमेन्ट गर्नुहोस्
Share: