
काठमाडौं । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइसको संक्रमण १६२ देशमा फैलिएको छ। मङ्गलबार बिहानसम्म कोरोनाका कारण विश्वभरबाट ज्यान गुमाउनेको सङख्या ७ हजार १ सय ५८ जना पुगेको छ भने संक्रमितको सङख्या एक लाख ८२ हजार चार सय १२ जना पुगेको छ ।
यस्तै स्पेनिस फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनको उपचारका क्रममा शनिबार २१ वर्षको उमेरमा निधन भएको हो ।
पछिल्लो साता स्वास्थ्यमा समस्या आएपछि गार्सियामा ल्युकोमियासँगै कोरोना संक्रमण देखिएपछि मलागाको क्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो । कोरोना संक्रमणबाट मलागा क्षेत्रमा शिकार हुने उनी पहिलो युवा र पाँचौं व्यक्ति हुन् ।
गार्सियाले सन् २०१६ देखि एट्लेटिको पोर्टाडा एल्टाज युवा टिमको म्यानेजरको भूमिका निर्वाह गरेका थिए ।
पछिल्लो तथ्याङकअनुसार कोरोना भाइरसका कारण स्पेनमा थप ४८ जनाको ज्यान गएको छ। भाइरस संक्रमण रोकथामका लागि प्रयत्न गरिरहेको स्पेनले गत हप्ता आपतकालीन अवस्था घोषणा गरेको थियो।
यसैबीच अमेरिकामा मानिसमा कोरोना भाइरसविरुद्धको खोपको परीक्षण सुरु गरिएको छ । उच्च प्रविधिको प्रयोग गरेर बनाइएको खोप ४५ जना स्वस्थ मानिसमा प्रयोग थालिएको बीबीसीले जनाएको छ । तर खोपले काम गर्ने वा नगर्ने बारेमा थाहा पाउन अझै केही महिना लाग्ने जनाइएको छ ।
