
पोखरा । पोखरा महानगरपालिका वडा नं. १५ नयाँगाउको सिर्जना मार्ग टोल विकास संस्थाले यहाँका १ सय १५ घरधुरीमा गई कोरोना संक्रमणबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीका विषयमा सचेतना जगाएको छ । सचेतना जगाउँदै टोल भित्र रहेका घरघरमा गई मास्क र साबुन निशुल्क वितरण गरेको छ ।
संस्थाका अध्यक्ष विष्णु तिवारीले टोलवासी त्रासमा रहिरहेकाले त्रासमा नरहन र सावधानी अपनाउन आग्रह गर्दै सचेतना गरिएको बताए । उनले भने–‘सामान वितरण गर्नुमात्र ठूलो कुरा होईन तर वितरणसँगै सचेतना फैलाउने कार्यमा हामी लागेका छौं ।’ साथै प्रत्येक घरमा बाहिरबाट प्रवेश गर्ने व्यक्तिका लागि बाल्टीमा पानी, जग र साबुन अनिवार्य राख्नका लागि पनि अनुरोध गरिएको तिवारीले जानकारी दिए ।
अहिलेको परिस्थितिमा सजगता अपनाउनै पर्ने भएकाले यस्तो सचेतनाको अभियान चलाईएको समितिका उपाध्यक्ष केदार प्रसाद पोखरेलले बताए । उनले भने– ‘अहिले साबुन र मास्क निशुल्क वितरण गरि अपनाउनुपर्ने सावधानीका बारेमा सचेतना फैलाईरहेका छौं । सबैले सहज तरिकाले लिनुभएको छ । साथै आफु पनि सजग हुने र परिवारका सदस्यलाई पनि सजग बनाउने प्रतिवद्धता टोलवासी गर्नुभएको छ ।’
