
काठमाडौं । स्वास्थ्य सेवा विभागले ओम्नी ओबिसिए ग्रुपसँग गरिएको ठक्का सम्झौता रद्द गरेको छ। ठेक्का सम्झौता रद्द गरेको बारे जानकारी बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले दिएका हुन्।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन यो समूहसँग सम्झौता गरेको थियो । त्यस सम्झौताअनुसार सरकारले नेपाल एयरलाइन्सको विमान पठाएर आइतबार व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगायत धेरै स्वास्थ्य सामग्री पनि ल्यायो । तर, बिना प्रतिस्पर्धा निकै महंगो मूल्यमा उपकरण खरिदको सम्झौता गरिएको भन्दै सरकारको आलोचना भएको थियो ।
विभागका महानिर्देशक श्रेष्ठले पनि मन्त्रालय बनाएको कोटेसनभन्दा २० प्रतिशत बढी मूल्य तिरिएको स्वीकार गरे । साथै, ओम्नी समूहले सम्झौताअनुसार स्वास्थ्य उपकरण ल्याउन नसकेकाले सम्झौता रद्द गर्ने निर्णय भएको उनले बताए । ‘आजसम्म कबोल अंकको १८ प्रतिशत मात्रै सामान आउनुपर्ने थियो। तर नआएपछि हामीले ओम्रीसँगको सम्झौता रद्द गरेका छौं।’ ओम्नीले उक्त ठेक्काका लागि ५ करोड रुपैयाँ धरौटी राखेको थियो। सम्झौता रद्द गरेर आम्नीकोे धरौटी जफतको तयारी पनि भइरहेको श्रेष्ठले जानकारी दिए।
