
काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिएको देशको संख्या २ सय ५ पुगेको छ । फोकल्याण्ड टापुमा एक जनामा कोरोना पुष्टि भएपछि कोरोना संक्रमण फैलिएको देशको संख्या २ सय ५ पुगेको हो । यस्तै दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा पनि कोरोनाको संक्रमण फैलिँएको यस अघि नै पुष्टि भैसकेको छ ।
अहिलेसम्म विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५९ हजार १ सय ५९ जना पुगेको छ । संक्रमितको संख्या १० लाख ९८ हजार ३ सय ९० पुगेको छ भने २ लाख २८ हजार ९ सय २३ जना उपचारपछि निको भएका छन् ।
कोरोनाबाट हिजो एकैदिन करिब ६ हजारको मृत्यु भएको छ। सबैभन्दा बढी बिरामी र मृत्यु हुनेको संख्या अमेरिकामा देखिएको छ। शुक्रबार अमेरिकामा मात्रै १ हजार ३ सय १४ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार नाघेको छ ।
इटालीमा शुक्रबार ७ सय ६६ जनाको कोरोनाका कारण मृत्यु भएको छ। यो सँगै इटलीमा सबैभन्दा धेरै साढे १४ हजारभन्दा धेरै को मृत्यु भएको छ । यस्तै हिजो स्पेनमा ८ सय ५० जनाको मृत्यु भएको छ। यो सँगै स्पेनमा ११ हजारभन्दा धेरैको मृत्यु भएको छ ।
फ्रान्समा शुक्रबार १ हजार १ सय २० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएसँगै मृत्यु हुनेको संख्या साढे ६ हजार भन्दा धेरै पुगेको छ। यस्तै इरानमा शुक्रबार कोरोनाका कारण १ सय ३४ जनाको मृत्यु भएसँगै अहिलेसम्म त्यहाँ ३ हजार भन्दा धेरैको मृत्यु भएको छ ।
