
काठमाडौं । छिमेकी देश भारतको मुम्बईमा कार्यरत २९ जना स्वास्थ्यकर्मीमा कारोना संक्रमण पुष्टि भएको छ। भारतको मुम्बईमा रहेको वोकहर्ट अस्पतालका २६ जना नर्स र तीन जना डाक्टरमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । अहिले अस्पताललाई प्रतिबन्धित क्षेत्र घोषणा गरि बन्द गरिएको छ ।
अस्पतालमा रहेका अरु कर्मचारीको पनि कोरोना भाइरस (कोभिड१९) परीक्षण भइहेको र उनीहरुको रिपोर्ट आएपछि मात्रै अस्पताल खोल्ने वा नखोल्ने भन्नेबारेमा प्रशासनले निर्णय गर्ने भारतीय संचारमाध्यमहरुले जनाएको छ । त्यहाँ अहिलेसम्म २ सय ५० जनाको कोरोना परीक्षणको लागि नमुना सङ्कलन गरिएको छ ।
यो सँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४ हजार ७ सय ७४ पुगेको छ। भारतमा कोरोना संक्रमणबाट १ सय ३६ जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमण फैलनबाट रोक्न भारतमा लकडाउन जारी रहेपनि तीव्र रुपमा संक्रमण फैलिइरहेको छ।
