
पर्वत । कोरोना भाइरस (कोभिड १९) को जोखिमका कारण नयाँ वर्ष वि.सं. २०७७ सालको अवसरमा प्रसिद्ध धार्मिक तीर्थस्थल कालीगण्डकी नदीमा स्नान गर्न जान तथा मेला लगाउन रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय पर्वतले मानिसको भीडभाड भएको ठाउँमा संक्रमणको जोखिम उच्च रहनुका साथै सतर्कताका लागि ‘लक डाउन’ गरिएको अवस्थामा नव वर्षको अवसरमा गरिने कुनै पनि धार्मिक मेला, पूजाआजा सांस्कृतिक जमघट नगर्न भनी निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताइन्।
नव वर्षको वैशाख संक्रान्तिको अवसरमा पवित्र कालीगण्डकीको तटमा पर्ने मोदीवेणी, सेतीवेणी, पुर्तिघाट, जैमिनीघाट, नयाँपुल, सहस्रधारा, वारिवेनी, मिलनचोकलगायतका स्थानमा स्नान गर्नेको भीड लाग्ने गर्दछ। प्रसिद्ध मोदीवेणी र विश्वकै ठूलो शालिग्राम शिला रहेको सेतीवेणीमा मेला लाग्दै आएको छ।
