
काठमाडौं । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का पदक विजेता खेलाडीहरुलाई पुरस्कार रकम हस्तान्तरण गरेको छ। साग सम्पन्न भएको झण्डै चार महिनापछि युवा तथा खेलकुद मन्त्रालयले आजसम्म सबै ४ सय ३५ जना पदक विजेता खेलाडीहरुको रकम उनीहरुको बैंक खातामा जम्मा गरिदिएको हो।
१३ औं साग गत मंसिर १५ देखि २४ गतेसम्म नेपालमै भएको थियो। युवा तथा खेलकुद मन्त्रालयको अनुसार ४ सय ३५ खेलाडीको खातामा कुल १९ करोड ५३ लाख रुपैंया नगद जम्मा गरिएको छ। मन्त्रालयले हिजोसम्म १ सय ७९ जनाको खातामा रकम जम्मा गरिदिएको थियो। बाँकी खेलाडीको खातामा आज रकम जम्मा गरिएको छ। अब खेल प्रशिक्षक, सहायक प्रशिक्षक, खेल संघसंस्थालाई दिने घोषणा गरिएको पुरस्कार राष्ट्रिय खेलकुद परिषदसँग उनीहरुको पेश्की, लेनदेन बाँकी रहे नरहेको जानकारी सहितको सिफारिस आएपछि हस्तान्तरण गरिने जनाइएको छ ।
सरकारले १३ औं सागमा व्यक्तिगत स्पर्धाका स्वर्ण जित्नेलाई ९ लाख, रजत जित्नेलाई ६ लाख र कास्य जित्ने खेलाडीलाई ३ लाख प्रदान गर्ने घोषणा गरेको थियो। यसैगरी टिम स्पर्धामा स्वर्ण जित्नेलाई ६ लाख, रजत जित्नेलाई ४ लाख र कास्य जित्नेलाई २ लाखका दरले पुरस्कार पठाइएको छ। एक भन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई ११ लाखका दरले पुरस्कार रकम दिने घोषणा गरिएको थियो। प्रतियोगितामा स्वर्ण जिताउने मुख्य प्रशिक्षकलाई ५ लाख, रजत जिताउनेलाई ३ र कास्य जिताउने प्रशिक्षकलाई २ लाख दिने घोषणा गरिएको थियो। यस्तैगरी सहायक प्रशिक्षकमा स्वर्ण जिताउनेलाई ३ लाख, रजत जिताउनेलाई २ लाख र कास्य जिताउने सहायक प्रशिक्षकलाई १ लाख दिइनेछ। नेपालले १३ औं सागमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य सहित २ सय ६ पदक जितेको थियो।
