
स्याङ्जा । सात्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्याङ्जाका अध्यक्ष सूर्य प्रसाद गैरे ‘पारस’ले कोरोना फैलन नदिन ‘लकडाउन’ जति नै कष्टकर भए पनि पूर्ण रुपमा पालना गर्न सबैमा आग्रह गरेका छन् ।
आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै उनले जतिसुकै चुनौतिपूर्ण भएपनि यस अवधि उच्च जोखिमको अवधि पनि भएकाले सबैले लकडाउन पालना गनुपर्ने बताएका हुन् । ‘लकडाउन चुनौतिपूण हुन सक्छ तर यस अवधि उच्च जोखिमको पनि अवधि हो। त्यसैले संक्रमण फैलिन नदिन हाम्रा सारा प्रयास केन्द्रित हुन जरुरी छ ।’ विज्ञप्तिमा भनिएको छ । उनले कोरोना महामारी फैलिन नदिन ‘लकडाउन’ बाहेक कुनै विकल्प नभएको बताएका छन् । ‘महामारी विरुद्ध सामाजिक दुरी उपयुक्त हतियार हो, सामाजिक दुरीको लागि लकडाउन विकल्पहीन माध्यम हो ।’
उनले हालसम्म स्याङ्जा जिल्लामा कोभिड १९ को संक्रमित नभेटिएको जानकारी दिएका छन् । अहिलेसम्म जिल्लामा विदेशबाट आएका ४ सय ६६ जनाको -यापिड टेष्ट, ९८ जनाको पिसिआर टेष्ट गरी जम्मा ५ सय ६४ जनाको परिक्षण गरिएको र हालसम्म परिक्षण भएका सबैको रिपोर्ट नेगेटिभ देखिएको उनले जानकारी दिएका छन् ।
उनले जिल्लामा अहिलेसम्म ७ सय ३५ थान पीपीई सेट, १ लाख भन्दा बढी माक्स वितरण गरी सुरक्षित बनाउने प्रयास भएको बताए । जिल्लामा राजनीतिक कर्मी, स्थानिय जनप्रतिनिधि, सुरक्षा निकाय, स्वस्थ्य कर्मी, सामाजिक संघ संस्था र स्थानीय समुदायलगायतको संयुक्त पहलमा कोरोना संकट व्यवस्थापन भैरहेको पनि जानकारी दिएका छन् । जिल्लाका सबै स्वस्थ्य चौकीमा गन थर्मोमिटर पु-याउने मुलुकमा नै पहिलो जिल्ला स्याङ्जा भएको समेत उनको ठहर छ ।

