
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दुईवटा अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्य्विधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश,२०७७ राष्ट्रपति भण्डारीले जारी गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेको जनाएका छन् ।
सोमबार दिउँसो मन्त्रिपरिषद् बैठकले यी दुवै अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा ४० प्रतिशत मत र्पुयाएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ । यसअघि संसदीय दल र केन्द्रिय समिति दुवैमा ४० प्रतिशत सदस्यको समर्थन बिनै दल विभाजन गरे मान्यता पाउँदैन थियो ।
यस्तै संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा भने परिषद् बैठक बस्न प्रमुख प्रतिपक्षी दलका नेताविनै संवैधानिक परिषद्को बैठक बस्न र निर्णय गर्न सकिने व्यवस्था गरिएको छ । यसअघि अध्यक्ष सहित चार जना सदस्य हुनैपर्ने प्रावधान संशोधन गर्दै अध्यक्षसहित तीनजना मात्र सदस्य भएपनि बैठक बस्नसक्ने ब्यवस्था गरिएको छ ।

