
काठमाडौं । आज वैशाख ११ गते । १४ औँ लोकतन्त्र दिवस । २०६२ सालको चैत २६ गतेबाट सुरु भई १९ दिनपछि अर्थात् २०६३ साल वैशाख ११ गते आन्दोलनले सफलता प्राप्त गरेको थियो ।
१९ दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज १४ औँ लोकतन्त्र दिवस मनाइँदैछ । कोरोना भाइरसबाट बच्न जारी लकडाउनका कारण भने औपचारिक कार्यक्रम नहुने भएको छ ।
२०६३ सालमा वैशाख ११ गते संसद् पुनर्स्थापनासहित नागरिकले अधिकार पाएका थिए । लोकतन्त्र स्थापना भएपछि त्यसै वर्ष जेठ ४ गते बसेको प्रतिनिधिसभाको बैठकले राजतन्त्र निलम्बनसहित महत्वपूर्ण ऐतिहासिक घोषणा गरेको थियो । यही घोषणा बमोजिम पहिलो पटक विसं २०६४ चैत २८ गते पहिलो संविधानसभाको चुनाव भयो । संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा २४० वर्षे राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा र्गयो ।
पहिलो संविधानसभाले संविधान बनाउन नसके पनि दोस्रो संविधानसभाबाट २०७२ असोज ३ गते संविधान बनाइ कार्यान्वयनको क्रममा छ ।
वैशाख ११ गतेपछि नै यो राजनीतिक विकास भएकाले प्रत्येक वर्ष यस दिन लोकतन्त्र दिवसका रुपमा स्मरण गरिन्छ ।
