
काठमाडौं । रौतहटमा थप दुई जना कोरोना भाइरस (कोभिड १९) संक्रमित बिरामी भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहटका दुई जना पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।
रौतहटको वृन्दावन नगरपालिका वडा नंं ९ भुसाहा बस्ने २४ वर्षीय र देवाही गोनाही नगरपालिका वडा नंं १ करुनीया बस्ने ३५ वर्षीय गरी दुईजना पुरूषमा संक्रमण पुष्टि भएको स् मन्त्रालयले जनाएको छ ।
उनीहरु दुवैजना लकडाउन कार्यान्वयन भएपछि भारतबाट चोरबाटो हुँदै नेपाल आएका बुझिएको छ । अहिले उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिको बारेमा जानकारी लिने काम भइरहेको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट १० हजार चार सय ७१ जनाको र आरडीटी विधिबाट ४३ हजार ६३ जना गरी ५३ हजार पाँच सय ३४ जनाको कोरोना परीक्षण गरिएकोमा ५४ जनामा कोरोना पुष्टि भएको छ । १६ जना उपचार पछि निको भएका छन् भने बाँकी ३६ को विभिन्न अस्पतालमा उपचार चलिरहेको छ ।
