
पोखरा । पोखरा महानगरपालिका– २० बिसाउनास्थित मजुवामा शनिबार राति एक मजदुरको हत्या भएको छ । ओखलढुंगाको सुनकोशी गाउँपालिका–५ मुलखर्क घर भई पोखरामा ज्यालामजदुरी गर्दै आएका अन्दाजी ५५ वर्षका टंकबहादुर तामाङको हत्या भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
मृतक तामाङको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ । झण्डै एक महिनादेखि स्थानीय बाटोमा काम गर्दै आएका तामाङको उनकै भतिज इन्द्र तामाङले हत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।
मादक पदार्थ सेवन गरि भतिज इन्द्र र टंक बीच आपसमा विवाद भएको बताइएको छ । इन्द्र बिहानदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ ।
मृतक तामाङको टाउकोमा गहिरो चोट लागेको र आँखा समेत फुटेको बताईएको छ । प्रहरीले फरार भएका तामाङको खोजी र अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
