
पोखरा । कास्की जिल्लाको मादी गाँउपालिका रबैडाँडा, सैमराङ र छेलाङ गाँउबाट बैदेशिक रोजगारीमा अमेरिका, मकाउ, बेलायत, अष्ट्रेलिया, इटाली, हङकङ, युएई, दक्षिण कोरियामा रहेका तामाङ युवाहरुले कोभिड १९ कोरोना भाइरसका कारण लकडाउनले आहात भएकाहरुलाई राहत वितरण गरेको छ।
बैदेशिक रोजगारीमा रहेका युवाहरुले रबैडाँडा, सैमराङ र छेलाङ गाँउबाट पोखरा आई रोजगारी एवम बसोबास गर्ने र कोरोना कारण लकडाउनले समस्यामा रही राहत आवाश्यक भएका ८२ तामाङ परिवारलाई आइतवार, सोमबार र मंगलवार गरी राहत वितरण गरेको हो ।
परदेशमा रहेका युवाहरुले कोरोनाको लकडाउनको आहातमा आफ्ना गाउले बाबा आमा दाजुभाई दिदिबहिनीलाई राहत प्रदान गर्न कोभिड १९ म्यासेन्जर ग्रुप बनाएर संकलित रकमबाट राहत वितरणको क्रम जारी राखेको हो ।
राहत वितरणका लागि तीनवटै गाउबाट पोखरामा आइ बसोवास गर्नेहरुको छलफलबाट युवा समाजसेवी पुर्ण लामाको संयोजकत्वमा प्रत्येक गाँउबाट तिन तिन जना समितिमा रही समितिकै सदस्यहरुले पारिवारिक अवस्थालाई मध्यनजर राख्दै आवाश्यक हुनेहरुलाई राहत वितरण गरिएको संयोजक लामाले जानकारी दिनुभयो। परिवारमा ३ जना सम्म हुनेलाई एक बोरा र तिनजना भन्दी बढी परिवार संख्या रहेका लागि दुई बोरा चालमसहित दाल, तेल, नुन वितरण गरिएको छ।
आइतवार, सोमबार र मंगलवार पोखराका विभिन्न भाग, भण्डारढिक, लामेआहाल लगायतका ठाँउहरुमा राहत वितरण गरिएको संयोजक लामाले बताए । विदेशमा कोरोनाको कहर बिचबाट जन्मस्थानको पिडामा मल्हम लगाउने युवाहरुको सहयोग जारी रहेको र समितिले पनि राहत आवाश्यक हुनेहरुलाई राहत वितरण जारी राखेको र अबको चरणमा रबैडाँडा, सैमराङ र छेलाङ गाँउमा समेत राहत वितरणको प्रवन्ध मिलाउने तयारी गरिरहेको उनले जानकारी दिए ।
अर्कोतिर राहत पाउनेहरु पनि छक्क परिरहेका छन् । सरकारी राहत जस्तै केजी केजीमा पाउने होला भन्ने खोचेर झोला बोकेर आउनेहरुले बोराका बोरा राहत पाउदा विदेशमा रहेका युवाहरुलाई आर्शिवाद प्रदान गरे । ‘हामी लकडाउनले समस्यामा छौं, विदेशमा त कोरोना कै महामारी भइरहदा पनि आफुहरुलाई बोराका बोरा राहत दिलाउने युवाहरु भगवान हुन्’, उनीहरुको भनाई थियो।

