नेपालमा एकै दिन २४ जनामा कोरोना पुष्टि, संक्रमित संख्या एक सय ३४ पुग्यो

Share:

काठमाडौँ । नेपालमा एकै दिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार साँझ थप १३ जनामा पुष्टि भएसँगै नेपालमा एकै दिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सोमबार विहानमात्रै कपिलवस्तुमा १० जनामा र सप्तरीमा एक युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार साँझ कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

कपिलवस्तुमा मात्र सोमबार १६ जनामा कोरोना संक्रमण देखिएको छ । रुपन्देहीमा यसअघि एक जनामा संक्रमित देखिएकामा सोमबार ६ जना थपिएको छ । यस्तै बर्दियामा भने पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।

सोमबार साँझ कपिलवस्तुको यशोधरा गाउँपालिका – ८ र वुद्धभूमि नगरपालिका ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै रुपन्देहीको सम्मरीमाइ गाउँपालिका ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । बर्दिया राजापुर नगरपालिका ५ कि ११ वर्षकी बालिकामा पनि कोरोना संक्रमण देखिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: