
काठमाडौँ । बंगालको खाडीमा बनेको शक्तिशाली चक्रवातको प्रभावका कारण नेपालको पूर्व र मध्य क्षेत्रको मौसम प्रभावित भएको छ। अहिले पनि पूर्व र मध्यका केही ठाउँमा पानी परिरहेको छ ।
अम्पुनसँगै स्थानीय वायुको प्रभावका कारण आज दिनभर नै मौसम बद्ली भई केही स्थानमा पानी पर्ने सम्भावना रहेको जनाइएको छ । तर, अम्पुन नामको शक्तिशाली चक्रवात जमिनमा प्रवेश गरिसकेकाले अहिले कमजोर हुने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो पूर्वका केही र पश्चिम तथा मध्य क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्नेे सम्भावना रहेको छ । पूर्वको उच्च हिमाली भू–भागका केही स्थानमा हिमपातको समेत संभावना रहेको मौसमविदले बताएका छन् ।
यस्तै राति पूर्वका केही स्थान र मध्य क्षेत्रका एक–दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने र उच्च हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना रहेको बताइएको छ ।
