
काठमाडौँ । नेपालमा थप ९ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला‚ काठमाडौं‚ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान‚ धरान र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र‚ हेटौंडामा गरिएको परीक्षणमा ९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार राती जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
संक्रमण पुष्टि हुनेहरूमा हेटौंडा–३ मकवानपुर निवासी ५४ वर्षीया महिला‚ भक्तपुर निवासी ४२ वर्षीया महिला‚ सप्तरी बलान बिहुल गाउँपालिका निवासी ३५ वर्षीय पुरूष‚ बारा सिमरनगढ निवासी २२‚ २७‚ ३०‚ ३४‚ ३८ र ४५ वर्षीय पुरूष रहेको विज्ञप्तिमा उल्लेख छ। संक्रमित सबैको स्वास्थ्य स्थिति सामान्य रहेको मन्त्रालयले जनाएको छ। योसँगै हिजो एकैदिन संक्रमण पुष्टि हुनेको संख्या ५९ पुगेको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको छ । यस्तै ३ जना संक्रमितको मृत्यु भैसकेको छ भने ७० जना संक्रमित उपचार पछि निको भएका छन् ।
