
काठमाडौँ । नेपालमा सोमबार थप ७२ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या ६ सय ७५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा प्रकाशित पछिल्लो सूचना अनुसार धनुषा, कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके, बारा, दैलेखमा संक्रमण पुष्टि भएको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा धनुषा नगराइन नपरगापालिकाका ३ जना पुरुष, कपिलवस्तु शिवराज नगरपालिका ३ जना पुरुष, काठमाडौं टोखा र बुढानिलकण्ठका ३ जना पुरुष, बारा कलैया कोटवालीका २ जना पुरुष र रौतहट २६ जना पुरुषमा कारोना संक्रमण पुष्टि भएको छ। त्यसैगरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्ती डाक्नेश्वरी नगरपालिकाका २ जना पुरुषमा कोरोना देखिएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बर्दिया बाँसगढीका १ जना र बाँकेका ४ जनामा कोरोना देखिएको हो। किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा बारामा गडीमाईमा २१ जना पुरुषमा कोरोना देखिएको हो। त्यसैगरि भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा दैलेख नारायण नगरपालिका र ढुंगेश्वर गाउँपालिकिाका एक जना महिलासहित ५ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश अस्पताल सुर्खेतरपशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा दैलेखकै गुराँस गाउँपालिकामा २ जना पुरुषमा कोरोना देखिएको छ।
संक्रमणमुक्त हुनेको संख्या १०५
नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १०५ पुगेको छ । नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचाररत थप १८ जनाले कोरोना भाइरसलाई पराजित गरेर आइतबार राति डिस्चार्ज भएका छन् ।
वीरगन्ज ३ छपकैयाको एकै परिवारका २ महिने शिशु र १० बालबालिका सहित १८ डिस्चार्ज भएका अस्पताल स्रोतले जनाएको छ ।
आइतबार राति डिस्चार्ज हुनेहरुमा छपकैयाको एकै परिवारका २ महिने एक शिशु, ३ देखि १३ वर्ष सम्मका ३ बालिका, ३ देखि १५ वर्ष सम्मका ६ जना बालक, ३२ देखि ६२ वर्षसम्मका ४ महिला र ३७ देखि ६६ वर्ष सम्मका ४ पुरुष रहेका छन्।
उक्त परिवारका ३७ वर्षीय पुरुषलाई बैशाख २१ गते कोरोना पुष्टि भएपछि त्यही दिन नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो। उनको कन्ट्याक्ट ट्रेसीङ गर्दा बैशाख २४ गते उनको परिवारका अरु १७ जना सदस्यमा पनि संक्रमण देखिएपछि १७ जनालाई पनि बैशाख २४ गते नै अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।
