
काठमाडौँ । आज १३ औ गणतन्त्र दिवस देशभर मनाईदै छ। संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ। तर यस वर्ष कोरोना महामारीका कारण कुनै औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन ।
यस वर्षको गणतन्त्र दिवस गृहमन्त्रालयले तीन दिन दिपावली गरी मनाउन आम नागरिकमा अनुरोध गरेको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को जेठ १२ को निर्णयअनुसार जेठ १४, १५ र १६ गते साँझ घरघरमा दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो। मन्त्रालयले सङ्घ प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी र गैरसरकारी कार्यालय, आम नागरिक एवं विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा पनि तीन दिन साँझ दीपावली गरी गणतन्त्र दिवस मनाउन विज्ञप्तिमार्फत आग्रह गरेको छ।
राष्ट्रपतिद्वारा २४१ जनाको कैद सजायँ र दण्ड जरिवाना मिनाहा
गणतन्त्र दिवसको अवसरमा सरकारले २ सय ३३ जना कैदीको कैद सजायँ मिनाहा गरेको छ । यस्तै आठ जना व्यक्तिको कैद, दण्ड जरिवाना, विगो, सर्वस्वलगायतको सजायँ पनि माफी गरिएको छ ।
सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजायँ मिनाहा र दण्ड जरिवाना माफी दिएको राष्ट्रपति कार्यालय शितल निवासबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक बधाइ दिँदै सुख, शान्ति र समृद्धिको कामना गरेकी छन् ।
राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमार्फत् देशमा लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका संघर्षमा आफ्नो जीवन आहुति गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेकी छन् । गणतन्त्र स्थापनार्थ भएका आन्दोलनमा होमिएका सम्पूर्ण राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ता एवं आम जनताको योगदानको उच्च प्रशंसा गर्दै उहाँले गणतन्त्रलाई थप सुदृढ तुल्याउन हार्दिक आह्वानसमेत गरेकी छन् ।
साथै उनले नोभेल कोरोना भाइरसको संक्रमणमा परी स्वदेश तथा विदेशमा अमूल्य जीवन गुमाउने सवै नेपालीहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेकी छन् । उनले संक्रमित विरामीहरुको स्वास्थ्यलाभको कामना गरेकी छन् ।
