
पोखरा । गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । म्याग्दीमा पहिलोपटक एक व्यक्तिमा र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
म्याग्दी मालिका गाउँपालिकाका ३० बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जनाएका छन् । बेनी स्थित क्वारेन्टिनमा रहेका उनमा संक्रमण पुष्टि भएपछि अहिले त्यहिको आइसोलेशन कक्षमा राख्ने तयारी भइरहेको बताइएको छ ।
यस्तै नवलपरासी देबचुली नगरपालिकाका १९ र २१ बर्षका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशक शर्माले जनाएका छन् ।संक्रमितहरुलाई मध्यबिन्दु जिल्ला अस्पताल लैजाने तयारी भइरहेको बताइएको छ ।
यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९ पुगेको छ ।
गण्डकी प्रदेशमा हालसम्म स्याङ्जामा ४ जना पुरुष र १ महिला गरि ५ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यस्तै नवलपुरमा हालसम्म ५ जना र म्याग्दीमा १ जनामा संक्रमण पुष्टि भएको छ । बागलुङमा हालसम्म ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । बागलुङका २ जना संक्रमित भने उपचारपछि संक्रमणमुक्त भएर घर फर्कीसकेका छन् ।
यस अघि संक्रमित एक जना लमजुङका भनिएका बालक भने धादिङ जिल्लाका भएको निर्देशक शर्माले जानकारी दिएका छन् ।
