
पोखरा । कोभिड १९ कोरोना भाइरसको संक्रमण दिनदिनै बढिरहेको छ । जस्का कारण लकडाउन अर्थात बन्दाबन्दी लम्बिदैगइरहेको छ।लकडाउन लम्बिदै जाँदा विपन्न, दैनिक ज्यालादारी गरेर बिहान बेलुका छाक टार्नुपर्ने पोखरेलीहरुको रासनदाता बन्नुभएकी पार्वती गुरुङ र माया गुरुङ अर्थात माईला–कान्छाले आज पोखरा महानगरपालिका वडा नं.२५ याम्दी क्षेत्रका राहत वितरण गरेका छन् । सामाजिक अभियन्ताद्वयले अत्यन्तै समस्यामा परेका अपांग असहायहरुलाई आफै नगद, खाद्यान्न राहत वितरण गरेका थिए । कोमल मनका माइला–कान्छाको उदाहरणीय सहयोग सामाजिक संजाल फेसबुकबाट जानकारी पाए पश्चात उनीहरुको आफन्त, साथीभाई र संघ संस्थाबाट सहयोग आउने क्रम शुरु भयो। जति राहत वितरण गर्दै गयो सहयोगदाता थपिदै गएकाले विपन्न, असहाय, दैनिक ज्यालादारी, मजदुरी गर्नेहरुलाई राहत वितरण दैनिकी नै बनेको छ।
सहयोगी संस्थाहरु मध्ये कै कास्कीको मर्दीखोला क्षेत्रबाट युकेमा बसोबास, कार्यरत रहनुभएका मर्दीबासीको साझा संस्था मर्दीखोला समाज युकेको सहयोगमा आज याम्दीमा माइला–कान्छाले राहत वितरण गरेका हुन् । मर्दीखोला समाज युकेका अध्यक्ष धर्मराज गुरुङको संयोजकत्वमा संकलित संस्थागत रकम र पोखरामा रहनु भएका मर्दीखोला समाज युकेका व्यक्तित्वहरु, चेलीवेटी लगायतबाट प्रदान गरिएको व्यक्तिगत सहयोगबाट विहान बेलुका छाक टार्न समस्यामा परेका १२० परिवारलाई मर्दीखोला समाज युकेका आमा समितिका संस्थापक अध्यक्ष, सामाजिक अभियन्ता माया गुरुङको विशेष नेतृत्वमा खाद्यान्न राहत वितरण र ३ जना मिर्गौला पिडितलाई राहतस्वरुप उपचार सहयोग प्रदान गरेका हुन् । उक्त राहतमा १५ किलो चामल, दाल र तेल रहेको माइला–कान्छा राहत वितरण अभियानका अभियन्ता अरुण गुरुङले जानकारी दिइन् । मर्दीखोलाको भेक तर्फ पर्ने याम्दीमा मर्दी खोला क्षेत्र, याम्दीका स्थानिय र विभिन्न जिल्लाबाट सेती नदिमा गिटी बालुवाको भरमा जिवनयापन गरेका मजदुरहरुलाई राहत वितरण गरिएको थियो । यसरी नै मिर्गौला पिडितहरु पुलको मुखकी मनु बुढाथोकी, रिभानका गञ्जसिंह गुरुङ र हुम्दीकी भगवती पौडेललाई जनहरी १५, १५ हजार रुपैया राहतस्वरुप स्वास्थ्योपचार सहयोग अभियन्ता, समाजसेवी माया गुरुङले घर घरमा पुगी हस्तान्तरण गरेकी थिइन् ।
उक्त कार्यक्रमका लागि मर्दीखोला समाज युकेले संस्थागत रुपमा संकलन गरेको १ लाख ८४ हजार ६३२ रुपैया, बरालडाँडा गाउँ भई युके अल्डरसट निवासी किसानकुमार/नन्दा गुरुङले १० हजार, ल्वाङ गाउँ भई युके फान्ब्रो निवासी मोहनकुमार÷दुर्गी गुरुङ ४ हजार ३५०, पुरानो गाउँ ल्वाङ हाल पोखरा औधोगिक क्षेत्र निवासी लक्ष्मीदेवी गुरुङले ५ हजार १ सय, मर्दीखोला समाज युकेका संस्थापक आमा अध्यक्ष माया गुरुङ (कान्छा) ५ हजार गरी २ लाख ९ हजार ८२ रुपैयाको राहत वितरण र मिर्गौला पिडितलाई सहयोग वितरण गरिएको हो।
याम्दीस्थित बालकल्याण आधारभुत विद्यालयमा आयोजित कार्यक्रममा सामाजिक अभियन्ताद्वय माइला–कान्छा, मर्दीखोला समाज युकेका उपाध्यक्ष चन्द्रसिंह गुरुङ, कार्यसमिति सदस्य कमला गुरुङ, सशस्त्र प्रहरीबल याम्दी चेक प्वाइण्टका प्रमुख मोहनकुमार आले, अभिन्ता अरुण गुरुङ, याम्दी टोल विकास संस्थाका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, सचिव टेकप्रसाद अधिकारी लगायतले राहत वितरण गरेका थिए ।
विपन्न, असहाय, अपांग, चुलो निभ्ने लागेकाहरुका निम्ती मर्दीखोला समाज युके र विभिन्न सहयोगीहरुको राहत लिएर याम्दी पुग्नु भएका माइला–कान्छा लगायतको राहत वितरण टोलीलाई याम्दी टोल विकास संस्थाका तर्फबाट अध्यक्ष विष्णुकुमार श्रेष्ठ, सचिव टेकप्रसाद अधिकारी, आमा अध्यक्ष निर्मला गुरुङले खादा लगाएर स्वागत सम्मान गरेका थिए । हार्दिकताका साथ स्वागत र आफ्नो टोलमा गरेको कार्यक्रमको अत्यन्तै उदाहरणीय रुपले संयोजन गरिदिएको भन्दै टोल विकास संस्थालाई समाजसेवी माया गुरुङले धन्यवादका साथ ५ हजार रुपैया सहयोग हस्तान्तरण गरेकी थिइन् ।
कार्यक्रममा मर्दीखोला समाज युके आमा समितिकी संस्थापक अध्यक्ष, अभियन्ता माया गुरुङले कोरोनाको लामो लकडाउनले विपन्न परिवारलाई हातमुख जोर्न समेत समस्या परिरहेकाले मर्दिखोला समाज युके र सहयोगीहरुको सहयोग माइला कान्छा राहत वितरण अभियान अन्र्तगत वितरण गरिएको हो। सात समुन्द पारी रहेको मर्दीखोला समाज युकेले कोरोनाको कहरमा याम्दीमा थोरै भए पनि राहत सहयोग गरेर सेवा पुर्याएको बताइन् ।
कार्यक्रमा मर्दीखोला समाज युकेका उपाध्यक्ष चन्द्रसिह गुरुङले समाजका सदस्यहरुबाट संकलित गरेको रकम समस्यामा परेकाहरुको लागि वितरण गर्नपाउदा खुशी लागेको भन्दै राहतले आहत मनहरुमा मल्हम पट्टि लगाउने प्रयास भएको बताए । कार्यसमिति सदस्य कमला गुरुङले माइला–कान्छाले समस्यामा परेकाहरुको लागि उदाहरणीय अभियान गरेकाले आफुहरुले पनि समाजका संस्थापक आमा अध्यक्ष माया गुरुङ र पार्वती गुरुङको अभियान मार्फन दीन दुखीलाई सेवा गर्न पाएको भन्दै खुशी व्यक्त गरेका थिए ।
याम्दी टोल विकास संस्थाका अध्यक्ष विष्णुकुमार श्रेष्ठले सरकारले राहतको व्यवस्था गर्नुपर्नेमा माइला–कान्छाको अभियानले याम्दीका समस्यामा रहेकाहरुको भोक मेटाउन आइपुगेकोमा उनलाई धेरै धेरै धन्यवाद व्यक्त गरे । भगवानकै रुपमा राहत लिएर आफनो टोलमा मर्दीखोला समाज युकेको कोशेली लिएर आएकोमा माइला कान्छालाईको गुन कहिल्यै नबिन्र्सने याम्दी टोल विकास संस्थाकी आमा अध्यक्ष निर्मला गुरुङले बताइन् ।
राहत ग्रहण गरेका सीता नेपालीले मर्दीखोला समाज युके र माइला कान्छा आफुहरुको नयाँ इश्वरको अवतार भएको बताइन् । दुईमहिना भन्दा बढी लकडाउनले खाने खर्च सकिएको, काम गर्ने अवस्था पनि नभएकाले चुलो निभ्ने अवस्थामा पुग्दा प्राप्त गरेको राहत आफुलाई लाखै पाएको रामबहादुर तामाङको भनाई थियो।

