
काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट थप १ जनाको मृत्यु भएको पुष्टि भएको छ । बाजुरा जिल्लाको क्वारेन्टाइनमा बसेको अवस्थामा हिजो बिहान साढे २ बजे मृत्यु भएकी बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै मृतक बालिकाकी २३ वर्षीया आमालाई पनि कोरोना देखिएको छ। संक्रमित आमालाई पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ। बुवाको रिर्पोट भने नेगेटिभ आएको छ।
मृतक बालिका, आमा र बुवालाई जेठ १५ गते आइसोलेसनमा राखिएको थियो। तिनै जनाको स्वाब धनगढी पठाइएको थियो। ८ दिन अगाडि उनको परिवार भारत बाट आएका थिए।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ। यस्तै नेपालमा कोरोना निको हुनेको संख्या २२० पुगेको छ। आइतबार मकवानपुर हेटौंडाकी २५ वर्षीया महिला कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएकी थिइन् ।
