बागलुङ र स्याङ्जामा एकै दिन ७ जना घर फर्के, गण्डकी प्रदेशमा निको हुनेको संख्या १० पुग्यो

Share:

गण्डकी प्रदेशमा कोरोना निको भएर घर फिर्ता हुनेको संख्या १० पुगेको छ । स्याङ्जा र बागलुङमा ७ जना कोरोना संक्रमितले कोरोना जितेर घर फर्केका छन् । पछिल्लो अपडेटअनुसार गण्डकी प्रदेशमा संक्रमितको संख्या १४७ पुगेको छ ।

जिल्ला अस्पताल स्याङ्जा र बागलुङको आइसोलेसन वार्डमा उपचाररत ७ बिरामीको स्वाब जाँच्दा नेगेटिभ आएपछि अस्पतालले उनीहरुलाई घर पठाएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बाग्लुङको धौलागिरी अस्पतालमा आईसोलेसन कक्षमा उपचाररत तमानखोला गाउँपालिकाका २७, २७ वर्षका २ पुरुष र बडीगाड गाउँपालिका १९ र २० वर्षका २ पुरुष गरि ४ जना निको भएर डिस्चार्ज भएका छन् ।

नमुना संकलन गरि पुन परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको निर्देशनालयले जनाएको छ । योसँगै बागलुङमा कोरोना जितेर घर फर्किनेको संख्या ६ पुगेको छ । यसअघि १९ वर्षकी युवती र ६५ वर्षे वृद्ध कोरोनामुक्त भएका थिए ।

आज बिहान  स्याङ्जाका ३ संक्रमितलाई जिल्ला अस्पतालले बिदाइ गरेको थियो । स्याङ्जा जिल्ला अस्पतालको आईसोलेसन कक्षमा उपचाररत वालिङ नगरपालिका २१ वर्षिय १ पुरुष र गल्याङ नगरपालिका २७ र ४० वर्षका २ जना पुरुषहरु निको भएर घर फिर्ता भए  । संक्रमित तीनै जनाको नमुना संकलन गरि पुनः परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको निर्देशनालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: