
पोखरा । स्याङजामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार स्याङजा भिरकोट–५ स्थित कच्चि सडक खण्डमा जिप दुर्घटना हुँदा जिपमा सवार १५ वर्षिया दुर्गा अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी किशोरीको कालिका सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिए ।
शनिबार १२ः१५ बजे भएको दुर्घटनामा घाइते भएका अन्य ६ जनालाई उपचारका लागि पोखरा ल्याइएको बताइएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका भिरकोट – ५ की ३७ बर्षीया शान्ति अर्याल, ३६ बर्षीया गिता अर्याल, २७ बर्षीया पार्वती अर्याल, ५६ बर्षीया शोभा अर्याल, २४ बर्षीया सुस्मा अर्याल र ७० बर्षीया भिम कुमारी अर्याललाई उपचारका लागि पोखरा ल्याइएको हो ।
जिपमा आठ जना सवार रहेका थिए । उकालो बाटोमा पछाडी हट्न गई सडकबाट अन्दाजी ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेकोे छ ।
