
पर्वत । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा पहिरोमा परेर मृत्यु हुनेको संख्या ६ पुगेको छ । आइतबार बिहान थप तीन जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या ६ पुगेको हो ।
शनिवार राति करिब साढे ९ बजे आएको पहिरोमा दुई घर परेको र नौजना बेपत्ता भएका थिए। तीमध्ये तीनजनाको शव राति नै पुरिएको अवस्थामा फेला परेको थियो।
आइतबार बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धार कार्य गरेपछि बेपत्ता रहेका ३२ वर्षीया कमला विक, ३० वर्षीय दिर्पा थापा र नाम नखुलेका एकजनाको शव फेला परेको प्रहरीले प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
पहिरोमा पुरिएकामध्ये ५२ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी र नातिनी आठ वर्षीया बिबिशाको शव भने शनिबार राति नै फेला पारिएको थियो।
घटनामा थप तीन जना बेपत्ता छन् । बेपत्ताको खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालित भएको छ । सशस्त्र प्रहरी बलको २५ नम्बर चण्डिका गणबाट सशस्त्र प्रहरी निरीक्षक शुसान्त थापाको टोली घटनास्थलमा छ ।
शनिवार साँझ ६ बजेदेखि झन्डै दुई घण्टासम्म परेको भीषण वर्षापछि पहिरो झरेको थियो ।
