
पोखरा । नेपाली कांग्रेसले आज सरकारलाई ज्ञापन पत्र बुझाउँदै छ। कोरोना महामारी नियन्त्रण गर्न सरकार असफल भएको निष्कर्ष निकालेको कांग्रेसले ७७ जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउन लागेको हो ।
कांग्रेसले सात प्रदेशका मुख्य मन्त्रीलाई पनि ध्यानाकर्षण पत्र बुझाउने छ। साथै, आज नै विदेशस्थित दूतावासमा जनसम्पर्क समितिमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने छ।
काठमाडौँ जिल्ला अदालत कार्यालय बबरमहलमा १२ः४५ बजे भेला भएर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउन जाने कार्यक्रम तय भएको काँग्रेसले जनाएको छ ।
यसैबिच नेपाली काँग्रेस कास्कीले पनि मुस्ताङचोकमा आज अपरान्ह १२ बजे भेला भएर जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने बताएको छ ।
केन्द्रीय समितिको निर्णय अनुसार कांग्रेसले ७७ जिल्ला, सात प्रदेश र दूतावासमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने भएको हो।
