राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण, नेपालको नयाँ नक्साले पायो संवैधानिक मान्यता

Share:

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानकाे दोस्रो संशोधन विधेयक प्रमाणीकरण गरेकी छन् ।

संघीय संसदका दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको नयाँ नक्सा अनुसार निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयकलाई राष्ट्रपति भण्डारीले बिहीबार प्रमाणिकरण गरेकी हुन् ।

यससँगै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ ।

उक्त विधेयक प्रतिनिधि सभाले जेठ ३१ गते र राष्ट्रिय सभाले आज सर्वसम्मत रुपमा पारित गरेको हो ।

राष्ट्रिय सभाले आज संविधान संशोधन विधेयकका पक्षमा सभाका ५८ मध्ये ५७ जनाले मतदान गरेका थिए । सबैले संविधान संशोधन विधेयकको पक्षमा मत दिएका हुन् । राष्ट्रिय सभाको एक जना सिट रिक्त छ । बाँकी सबै मतदानमा सहभागि भएर विधेयकको पक्षमा मत दिएका हुन् ।

सरकारले गत जेठ ९ गते प्रतिनिधि सभा सचिवालयमा संविधानको दोस्रो संशोधन विधेयक दर्ता गराएको थियो।

यो विधेयकविरुद्ध प्रतिनिधि सभामा एकमात्र संशोधन दर्ता भएको थियो। समाजवादी पार्टीकी सांसद सरिता गिरिले मात्र यो संशोधनविरुद्ध संशोधन दर्ता गराएकी थिइन्। उक्त संशोधन प्रतिनिधि सभाको नियमावली अनुसार नभएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले खारेज गरिदिएका थिए।

सरकारले जेठ ७ गते भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितका भूभाग समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको थियो।

कमेन्ट गर्नुहोस्
Share: