नेकपा स्थायी कमिटी बैठक आज, एमसीसीबारे निर्णायक छलफल हुने

Share:

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ । आज विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), सरकारका कामरकारबाही र पार्टी गतिविधिका विषयमा निर्णायक छलफल हुने नेकपा नेताहरूले बताएका छन्।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने छन् ।

नेकपाभित्र एमसीसीका विषयमा तीव्र विवाद चलिरहेको छ। एमसीसी सम्झौता संसदले पारित गर्नुपर्ने म्याद असार १७ गते सकिँदै छ सोही दिन दिउँसो संसद बैठक पनि बस्दैछ । त्यो दिन संसदले यो सम्झौता पारित गरेन र यसको म्याद पनि थपिएन भने स्वतः निश्क्रिय हुनेछ । साथै अमेरिकाले नेपाललाई दिने भनिएको ५० करोड अमेरिकी डलर अनुदान सहयोग पनि रोकिने छ ।

त्यसैले आज (बुधबार)को नेकपा स्थायी कमिटी बैठकलाई महत्वसाथ हेरिएको छ। यो बैठकले जे निर्देशन दिन्छ, सोही सर्कुलरअनुसार नै नेकपा संसदीय दलले निर्णय गर्नुपर्ने हुन्छ ।

यसअघि गत वैशाख २५ गते नै बस्ने भनिएको नेकपाको स्थायी कमिटी बैठक अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयमा स्थगन गरेका थिए।

एमसीसीको पक्षमा एकमत नभएपछि सुझावका लागि नेकपाले झलनाथ खनाल, भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको तीन सदस्यीय अध्ययन कार्यदल बनाएको थियो । कार्यदलको बहुमतले एमसीसी सम्झौता हुबहु पारित गर्न नमिल्ने मतसहितको प्रतिवेदन तयार पारेर पार्टी नेतृत्वलाई बुझाइसकेको छ ।

हिजो पनि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो।

कमेन्ट गर्नुहोस्
Share: