
पोखरा । तमु जातिको पुरानो सामाजिक संस्था तमु धिं नेपालले आफ्ना क्षेत्रीय तमु समाजका अध्यक्षहरु, उपसमिति संयोजकहरु, सल्लाहकार र कार्यसमितिको कोरोना बिमा गर्ने भएको छ।कोभिड १९ कोरोना भाईरसको महामारी लम्बिदै गए पश्चात तमु धिंको बुधबारको बैठकले पहिलो चरणमा सामाजिक अगुवाहरुको बिमा गर्ने निर्णय गरेको हो।
संस्थाले आफ्ना अगुवाहरुको संरक्षण गर्ने दायित्व भएकाले उक्त निर्णय गर्दै पहिलो चरणमा करिब ८० जनाको बिमा गरिने तमु धिं नेपालका कार्यबाहक अध्यक्ष हुमबहादुर तमुले जानकारी दिए ।
यस्तै गरी तमु कलाकारहरु कोरोनाको कहरले समस्यामा परेको भन्दै तमु(गुरुङ) कलाकार संघ गण्डकी प्रदेश समितिको राहत संकलन अभियानमा २१ हजार रुपैया तमु धिं नेपालले सहयोग गर्ने निर्णय गरेको छ भने कलाकारहरुलाई कार्यालय व्यवस्थापनमा तमु धिं नेपालले सघाउने महासचिव गिरीप्रसाद तमुले जानकारी दिनुभयो। यस अघि तमु धिंले गण्डकी प्रदेश सरकारलाई ५ लाख रुपैया, पोखरा महानगपालिकालाई १ लाख १ हजार रुपैया कोरोना नियन्त्रण तथा उपचारका लागि सहयोग हस्तान्तरण गरिसकेमो छ भने १२२ जना विपन्न असहायलाई सहयोग राहत उपलब्ध गराएको थियो। यसरी नै कोरोना महामारीको शुरुवाती मै तमु धिं नेपालले कोरोना भाइरसका बारेमा वरिष्ठ फिजिसियन डा.नारायणसिंह गुरुङबाट सचेतना प्रशिक्षण कार्यक्रम गरी सचेत, सजग, सर्तकताका लागि आव्हान गरेको थियो।
कोरोनाको संक्रमण बिचमा शारीरिक दुरी कायम गरी सम्पन्न बैठकले तमु धिं नेपालको आगामी कार्ययोजना तयार गर्नका लागि बैठकले महासचिव गिरीप्रसाद तमुको संयोजकत्वमा समिति गठन गरेको छ। समितिको सदस्यहरुमा अधिवक्ता जुनाकुमारी तमु, सुमे श्रीप्रसाद तमु, जुमकाजी तमु, मेनकाजी तमु, नारायण तमु, गिमाया तमु, गुरुयोजना संयोजक ई.किसानसिंह तमु, साँस्कृतिक समिति सहसंयोजक कृष्णकुमार तमु, आमा समिति अध्यक्ष हरिमाया तमु, भाञ्जा विग्नेस, समाजहरुको तर्फबाट तमु धिंका आदरणीय अतिथि बगालेटोल अध्यक्ष दिलबहादुर तमु र मिलिजुली विजयपुर तमु समाजका अध्यक्ष ई.मानकाजी तमु रहेका छन्।
यस्तै गरी तमु धिं नेपालका कार्यसमिति सदस्य नारायण तमु राप्रपाको केन्द्रीय सदस्यमा मनोनयन र दीप तमु समाजको नवनिर्वाचित अध्यक्ष कुमानसिंह तमुलाई सफल कार्यकालको शुभकामनासहित हार्दिक बधाई ज्ञापन गरिएको तमु धिं नेपालकी सचिव अधिवक्ता जुनाकुमारी तमुले जानकारी दिइन् ।
