कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुग्यो

Share:

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित कोरोना ब्रिफिङका क्रममा नेपालमा मृतक संख्या २७ पुगेको जानकारी दिएका हुन् ।

प्रवक्ता डा.गौतमका अनुसार दाङमा तीनदिन पहिले उपचारका क्रममा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ। घोराही उपमहानगरपालिका–१५ गुम्राह चोक प्रतीक्षालयमा अचेत अवस्थामा तीन दिन पहिले भेटिएकी महिलालाई प्रहरीले उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार लागि लगिएकोमा चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।

उनको स्वाब संकलन गरेर कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानले जनाएको छ। अन्दाजी २५/३० वर्षको जस्तो देखिने ती महिलाको अहिलेसम्म सनाखत हुन सकेको छैन।

यस्तै यसअघि ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत १ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । चितवन स्थायी ठेगाना भई ललितपुरको महालक्ष्मीस्थान नगरपालिका बसोबास गर्ने ५० बर्षका पुरुषको निधन भएको हो।

उनको बुधबार बिहान ५ बजे मृत्यु भएको हो। मृत्यु हुने ती पुरुषमा पाँच महिना अघि मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपण गरिएका उनको स्वास्थ्यमा समस्या आएपछि सुरुमा भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रमा लगिएको थियो। त्यसपछि उनलाई भेन्टिलेटरको सपोर्ट चाहिने भएपछि नर्भिक अस्पताल लगिएको थियो।

नर्भिक अस्पतालले आइसोलेसनमा राखी कोरोना जाँच गर्दा पोजेटिभ आएपछि पाटनमा रेफर गरिएको थियो। पाटनमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

कमेन्ट गर्नुहोस्
Share: