
काठमाडौँ । नेपालको जनसङ्ख्या आजदेखि औपचारिक रुपमा तीन करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागले शुक्रबार दिएको जानकारी अनुसार नेपालको जनसंख्या ३ करोड ६ सय ३४ पुगेको हो।
हरेक दश वर्षमा नेपालको जनसंख्या एकिन सार्वजनिक गरिने गरिएको छ। विभागले राष्ट्रिय जनगणना, २०६८ को जन्म, मृत्यु र बसाइँसराइ दरको तथ्याङ्कमा आधारित भएर मुलुकको जनसङ्ख्या तीन करोड ६३४ पुगेको जनाएको हो ।
राष्ट्रिय जनगणना, २०६८ को नतिजाअनुसार नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो । आगामी वर्ष १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ हुँदैछ । विभागले त्यससम्बन्धी कार्यतालिका स्वीकृत गरिसकेको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेलको अध्यक्षतामा गत साता सम्पन्न राष्ट्रिय जनगणना निर्देशक समितिको बैठकले उक्त कार्यतालिका स्वीकृत गरेको हो ।
