
काठमाडौँ । यस वर्षको असारे १५ अर्थात राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सवमा हिलो खेल्न नपाइने भएको छ । यस्तै यस वर्ष सीमित सहभागिता र सुरक्षा मापदण्ड पालना गरी महोत्सवको कार्यक्रम गरिने कृषि विभागले जनाएको छ ।
कोरोना महामारीको समयमा संक्रमण फैलिन नदिन विभागले बनाएको रोपाइँ महोत्सव प्रोटोकलमा हिलो खेल्ने र छ्याप्ने काम गर्न नपाइने उल्लेख गरिएको छ । ‘रोपाइँ महोत्सव गर्दा अन्य सांस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक (हिलो छ्याप्ने आदि) गतिविधि नगर्ने’ कृषि विभागले तयार पारेको प्रोटोकलमा भनिएको छ ।
यस्तै यसवर्ष सकेसम्म २५ जनामात्र सहभागी हुने र २५ भन्दा बढी सहभागी भए सहभागीबीच न्युनतम ६ फिट (२ मिटर) दूरी कायम गर्नुपर्ने नियम बनाइएको छ । सम्भव भएसम्म सहभागीको ज्वरो नापेर १००.४ डिग्री फरेन्हाइट भन्दा बढी तापक्रम देखिएमा प्रवेश नदिने पनि रोपाइँ महोत्सव प्रोटोकलमा उल्लेख छ ।
महोत्सवमा प्रवेश गर्नुअघि मास्क लगाउने, साबुनपानीले हात धुने वा स्यानिटाइजर लगाउनुपर्नेछ । खाजा वा चिया खाने बेला, आवतजावत गर्दा कम्तीमा ६ फिटको दुरी कायम राख्ने नियम पनि सरकारले बनाएको छ ।
रोपाइँ महोत्सवमा सम्भव भएसम्म सामूहिक खाजा निरुत्साहित गर्ने, कम श्रम लाग्ने प्रविधि वा मेसिन प्रयोग गर्ने, रोपाइँपछि साबुन पानीले हात धुने वा गुणस्तरीय स्यानिटाइजर लगाउने कृषि विभागले नियम बनाएको छ ।
