
काठमाडौँ । भारतको कानपुर जिल्लामा अन्धाधुन्ध गोली चल्दा आठ प्रहरीको निधन भएको छ।
बिहीबार राति करिब एक बजे अज्ञात समूहले अन्धाधुन्द गोली चलाउँदा एक डिएसपी र तीन इन्सपेक्टरसहित आठ जना प्रहरीहरुको ज्यान गएको हो । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार मृत्यु हुनेमा डेप्टी एसपी देवेन्द्र मिश्रासहित तीन सब इन्सपेक्टर र चार कन्स्टेवल रहेका छन्।
केही प्रहरीहरु घाइते भएका पनि जनाइएको छ । उनीहरुलाई कानपुरकै रिजेन्सी अस्पतालमा भर्ना गरिएको छ ।
लामो समयदेखि फरार अभियुक्त विकास दुवेलाई पक्रन प्रहरीहरु कानपुरको चौबेपुरको बिकरुगाउँमा गएका थिए । ती प्रहरीहरुलाई घरको छतबाट गोली हानिएको थियो । यो आक्रमणमा अभियुक्त दुवे र उनकै समूहको संलग्नता रहेको भारतीय प्रहरीको दाबी छ । दुवेको समूह प्रहरीहरुको हतियारसमेत लुटेर फरार भएको बताइएको छ ।
प्रतिरक्षामा गोली चलाउँदा दुवेको समूहका तीन सदस्यसमेत मारिएको बताइएको छ ।
