
पोखरा । प्राडा सरोज कोइराला पृथ्वीनारायण क्याम्पसको प्रमुख नियुक्त भएका छन् । विश्वविद्यालयको कार्यकारिणी परिषदको मंगलबारको बैठकले यो निर्णय गरेको हो ।
पृथ्वीनारायण क्याम्पसको अंग्रेजी विभागमा कार्यरत प्राडा कोइराला ४ वर्षे कार्यकालका लागि नियुक्त भएका हुन् । प्राडा कोइरालाले बुधबार पदभार ग्रहण गरे ।
विश्वविद्यालयका उपकुलपति संयोजक रहने ७ सदस्यीय समितिले क्याम्पसका वरिष्ठ प्राध्यापकमध्येबाट प्राडा कोइरालाई चयन गर्ने निर्णय गरेको थियो ।
गएको चैत २८ गते चन्द्रबहादुर थापाको कार्यकाल समाप्त भएयता पृना प्रमुखको पद रिक्त थियो । विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले थापाको अवकाशपछि नन्दलाल अधिकारीलाई निमित्त क्याम्पस प्रमुख नियुक्त गरेका थिए ।
२०७५ सालमा त्रिभुवन विश्वविद्यालय सेवा आयोगले १ जनामात्रै प्राध्यापकका लागि आह्वान गर्दा सर्वाेत्कृष्ट भई कोइराला प्राध्यापकमा पदोन्नति भएका थिए ।
२०५५ सालदेखि पृथ्वीनारायण क्याम्पसमा प्राध्यापनरत उनले त्रिभुवन विश्वविद्यालयबाटै विद्यावारिधि गरेका हुन् । अमेरिकाको रुटगर्ज विश्वविद्यालयबाट पोस्टडक्ट्रेड गरेका कोइरालाले युरोप र अमेरिकाका धेरै विश्वविद्यालयबाट अनुसन्धान फेलोसिप प्राप्त गरेका छन् ।
