लम्जुङमा पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु

Share:

लमजुङ । लमजुङको बेँसीशहर नगरपालिका–७ सातबिसेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । अन्य ५ जना घाइते भएका छन् ।

गएराति करिब ११ बजे ढुंगासहितको पहिरोले घर पुरिँदा स्थानीय ३३ वर्षीय दीपक तामाङ, उनकी श्रीमती २६ वर्षीया विमाया तामाङ र छोरा नौ वर्षीय छेवाङ तामाङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय लम्जुङका अनुसार पहिरोमा पुरिएको अवस्थामा उनीहरुलाई उद्धार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । दीपककी आमा, बुवा र छोरी भने आफन्तको घरमा गएकाले सकुशल छन् ।

२६ वर्षीया विमायाको राति १ बजे र दुई जनाको राति साढे २ बजे शव निकालिएको प्रहरीको प्रहरीले जनाएको छ । उद्धारपश्चात् उनीहरुको शव परीक्षणका लागि बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला सामुदायिक अस्पतालमा राखिएको छ । त्यस्तै, मृतक ३३ वर्षीय तामाङको घरमा काम गर्न बसेका तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा सोही वडा सातविसे घर भएका २६ वर्षीय सन्तबहादुर गुरुङ, बेँसीशहर नगरपालिका १० घर भएका २० वर्षीय सुमन गुरुङ र २३ वर्षीय अनिल गुरुङ रहेको प्रहरीको भनाइ छ । घाइते तीन जनालाई नै जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यस्तै गएराति नै लम्जुङको क्होलासोथार गाउँपालिका वडा नम्बर ३ का तुलबहादुर गुरुङको घर पहिरोमा पुरिँदा तुलबहादुरकी बुहारी र एक जना बच्चा घाइते भएका प्रहरीले जनाएको छ । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: