म्याग्दी पहिरोः मृतकको संख्या १८ पुग्यो, ११ जनाको घाईते अवस्थामा उद्दार

Share:

म्याग्दी । म्याग्दीमा पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ । बिहीबारदेखि लगातार परेको बर्षासँगै म्याग्दीको धवलागिरि, मालिका र रघुगंगा गाउँपालिकामा खसेको पहिरोमा परेर १८ जनाको मृत्यु भएको हो । एघार जनाको भने घाईते अवस्थामा उद्दार गरिएको प्रहरीले जनाएको छ ।

पहिरोले पुरिएका मराङको ठूलोगाउँका ६२ वर्षीय तुलबहादुर केसीको शव शुक्रबार भेटिएको थियो । बाँकीको शव शनिबार भेटिएको हो ।

धवलागिरि–६ मराङका ११, मालिका–७ बिमका ८ र रघुगंगा–६ ठाडाखानीका १ जनाको शव भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

धवलागिरी–६ कल्लेनीका राम्चेका सुकना लामगादे, आयुष लामगादे, आशिष दामगादे,आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, प्रकाश केसी, कमला श्रीपाली, सुरक्षा श्रीपाली र सुरज श्रीपालीको शव भेटिएको प्रहरीले जनाएको छ । बिमकी बिष्णु पौडेल, उनकी छोरी इच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, विर बहादुर नेपाली, उनका ३ महिनाका छोरा, बिष्णु नेपाली, सन्दीप नेपालीको शव भेटिएको प्रहरीले जनाएको छ ।

११ जनाको घाईते अवस्थामा उद्दार

यस्तै प्रहरीले ११ जनालाई घाईते अवस्थामा उद्धार गरेको छ । उनीहरु भध्ये धवलागिरी गाउँपालिका–६ का २२ वर्षीया मन्जिता श्रीपाली, ७ वर्षीय सफल श्रीपाली तथा मालिका गाउँपालिका–७ विमका ३६ वर्षीय पूर्ण बहादुर नेपाली र मालिका गाउँपालिका–७ ताकमका सतदेवी बिटालुलाई उपचारका लागि पोखरा मणिपाल शिक्षण अस्पताल रिफर गरिएको बताइएको छ । उनीहरुको अवस्था मध्ययम रहेको जनाइएको छ ।

अन्य ७ जनाको भने बेनी अस्पतालमा उपचार भईरहेको छ । उनीहरुमा मराङका ३४ वर्षीय धनबहादुर जुग्जाली, ३५ वर्षीय कुशल पुन, १२ वर्षीय अंकित जुग्जाली, १६ वर्षीया बिर्सना जुग्जाली, ८७ वर्षीया गौमती सुनार, २२ वर्षीय दिपक श्रीपाली, ७२ वर्षीय हरि बिटालु रहेका छन् । उनीहरु सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

२२० जनालाई सुरक्षीत स्थानमा स्थानान्तरण

साथै पहिरोको उच्च जोखिम भएका २२० जना मानिसहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार रघुगंगा गाउँपालिका–३ गलेश्वर राहुँघाट खोला नजिकको बस्तिमा रहेका २१ घर धुरीका ८५ जना परिवारलाई सोही ठाउँ स्थित रहेको गायत्री मन्दिरमा स्थानान्तरण गरिएको छ । धवलागिरी गाउँपालिका–६ कल्लेनी जहरे बस्ने ८९ जना व्यक्तिहरुको उद्दार गरी धवलागिरी गाउँपालिका–७ शिवाङ्ग स्थित रहेको हेम माध्यामिक विद्यालयमा ५० जना र अन्य ३९ जनालाई आफन्तकोमा स्थानान्तरण गरिएको छ भने मालिका गाउँपालिका–५ देविस्थानका ३ घर धुरीको १३ जना र मालिका गाउँपालिका–५ दरबारचाउटाका ६ घरधुरीको ३३ जना गरी जम्मा ४६ जनालाई जनप्रिय माध्यामिक विद्यालय दरबाङमा स्थानान्तरण गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: