
काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ।
रौतहटको परोहा नगरपालिका–७ का ३६ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
रुघाखोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि उनी असार २९ गते नारायणी अस्पतालमा भर्ना भएका थिए । आईसियूमा उपचाररत उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि बुधबार भेन्टिलेटरमा राखेर उपचार गरिएको र दिउँसो २ः३० बजेतिर मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणका कारण मृत्यु भएका दाजुको अन्तिम संस्कारका लागि उनी भारतको बैंगलोर गएका थिए। अन्तिम संस्कारपछि उनी असार २४ गते नेपाल फर्किएर पर्रोहा नगरपालिकाको क्वारेन्टीनमा बसेका थिए ।
२९ गते नै स्वाब संकलन गरिएपनि उनको बुधबार मात्र कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।
