पहिरोका घाइतेलाई गण्डकी प्रदेश प्रमुख शेरचनले भेटे

Share:

पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले म्याग्दीको मराङ र कास्कीको सराङकोटमा गएको पहिरोमा परी घाइते भएकाहरूलाई भेटेका छन् ।

शुक्रबार साँझ मणिपाल शिक्षण अस्पतालमा उपचाररत पहिरोका घाइतेहरूलाई भेट्दै प्रदेश प्रमुख शेरचनले उनीहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी समेत लिए । घाइतेहरूलाई उपचारमा कुनै समस्या हुन नदिन आफूले पहल गर्ने बताउँदै प्रदेश प्रमुख शेरचनले उपचार निःशुल्क गराउन प्रदेश सरकारसँग आग्रह गर्ने वचन समेत दिएका छन् ।

साथै, उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरे । प्रदेश प्रमुख शेरचनले म्याग्दी पहिरोका घाइतेहरू २१ वर्षीया मञ्जिता सिर्पाली, ६३ वर्षीया सतदेवी बिटालु, ८८ वर्षीया गौमती सुनार र कास्की पहिरोका १९ वर्षीया रश्मी थापामगर र १७ वर्षीया आशा थापामगरलाई भेटका हुन् । म्याग्दी पहिरोका घाइतेहरूले उपचारका लागि सरकारले सहयोग गरेको भन्दै धन्यवाद दिए । तर, कास्कीको सराङकोट पहिरोका घाइतेहरूले भने उपचारमा समस्या भएको भन्दै औषधी किन्ने पैसा समेत नपाएको गुनासो गरेका छन् ।

सो अवसरमा उनले मणिपाल शिक्षण अस्पतालका डीन एवं प्रमुख कार्यकारी अधिकृत डा. दिलीपचन्द्र अग्रवाल र अस्पतालका निर्देशक डा. सूर्य चौधरीसँग घाइतेहरूको उपचारका बारेमा जानकारी लिँदै उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: