
पोखरा । देशका धेरै स्थानमा लगातार पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायु सक्रिय भएको र मनसूनी न्यून चापीय रेखा नेपालतिर सरेकाले पनि देशैभर बदली र वर्षा भएको मौसमविदले बताएका छन्। मौसमविदका अनुसार साउन ९ गतेसम्मै वर्षाको सम्भावना छ ।
अहिले पनि पोखरासहित देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज (सोमबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले बताएका छन्।
यस्तै राति पनि देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेश केही स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। साथै पहिरो, डुबान र बाढीको जोखिम क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन पनि मौसमविदले आग्रह गरेका छन् ।
