आजदेखि मनसुन फेरी सक्रिय, कास्की र स्याङ्जामा भारी वर्षा मापन

Share:

पोखरा । आज (सोमबार) देखि मनसुन फेरी सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी रेखा नेपालको दक्षिण भूभाग नजिक रहेकाले प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुने पूर्वानुमान छ । यो क्रम बिहीबारसम्मै जारी रहने पूर्वानुमान गरिएको छ।

अहिले गण्डकी प्रदेश, प्रदेश १, प्रदेश ५, बाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूमा निरन्तर वर्षा भइरहेको छ । अझै केही घण्टा वर्षा जारी रहने सम्भावना रहेको विभागले जनाएको छ ।

कास्की, तनहुँ, स्याङ्जा, चितवन, धादिङ, पाल्पा, गुल्मी, नवलपरासी, कपिलवस्तु, रूपन्देही लगायतका जिल्लामा र ती जिल्ला आसपासका क्षेत्रहरुमा भारी वर्षा भएको छ ।

हाल कास्कीको लुम्ले र स्याङ्जास्थित वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ र थप वर्षा हुने सम्भावना छ । त्यसैले लम्जुङ, पर्वत र आसपासको जिल्ला भई बहने मोदीखोला लगायत साना नदीमा आकस्मिक बहाब हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै भारी वर्षाका कारण बुटवलको तिनाउ नदीको बाढीले सोमबार बिहान चार बजे सतर्कताको तह पार गरेको र बिहान सात बजेको मापनमा भने सतर्कताको तहभन्दा तलै देखिएको छ । यद्यपि बाढी पूर्वानुमान महाशाखाले तिनाउ र कञ्चनखोलाको तटीय क्षेत्र आसपासमा बिहान १० बजेसम्म सतर्क रहन आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: