आज बकर ईद, घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगको आग्रह

Share:

काठमाडौँ । इस्लाम धर्मावलम्बीले महान वर्ष बकर–इद आज (शनिबार) विशेष रुपमा मनाउँदै छन् । बकर–इद पर्व रमजान (इद उल–फित्र) पछिको दोस्रो ठूलो पर्वका रुपमा मुस्लिमहरुले मनाउने गर्छन् ।

रमजान पर्वको ७० औँ दिनमा बकर–इद मनाइन्छ । यो पर्वमा जनावरको बली दिने प्रचलन रहेको छ । बली दिएको जनावरको मासु तीन भागमा बाँडी एक भाग गरिब एवं विपन्न परिवारलाई, एक भाग आफन्त–इष्टमित्रलाई र अर्को एक भाग आफू खानुपर्ने धार्मिक मान्यता छ ।

यो पर्वमा हजका लागि साउदी अरेबियाको मक्का–मदिना जाने चलन रहेको छ । तर यो वर्ष कोरोना भाइरसको महामारीका कारण साउदी अरेबियाले त्यहिँ रहेका बाहेक कोही पनि विदेशीलाई हज यात्राको अनुमति दिएको छैन ।

यस्तै यो वर्षको कोरोना भाइरसको जोखिम फैलन सक्ने भन्दै मुस्लिम आयोगले घरमै बसेर नमाज पढी इल उल अज्हा (इद) मनाउन आग्रह गरेको छ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कोरोना भाइरस अझै नियन्त्रणमा आइनसकेकाले आफ्नै घर तथा आवासमा बसेर इद मनाउन आग्रह गरेका हुन्।

‘‘ओल्माहरू, मुफ्तिहरू, नेपाली जामे मस्जिद, पञ्च काश्मिरी तकिया जामा मस्जिदका पदाधिकारीहरूको सल्लाह बमोजिम अन्य सबै आ–आफ्नो तरिका अनुसार घरमै बसी नमाज पढी ईद मनाउन सम्बन्धित सबैमा अनुरोध गर्दछु’ आयोगका अध्यक्ष मियाँ अन्सारीद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।

यद्यपी इद उल अज्हाको नमाज पनि पाँच जनासम्मले मस्जिदमा पढ्न पाउने व्यवस्था गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: