गण्डकी प्रदेश सरकारद्धारा प्रहरीलाई सवारी साधन हस्तान्तरण

Share:

पोखरा । गण्डकी प्रदेश सरकारले आइतबार प्रहरीलाई सवारी साधन हस्तान्तरण गरेको छ । गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुका लागि सवारी साधन उपलब्ध गराएको हो।

प्रदेश सरकारले आइतबार प्रहरीलाई बुलेट बाइक ५ थान, पल्सर बाइक १८, टिभिएस अपाचे बाइक ५ थान र ४ थान पिकअप भ्यान हस्तान्तरण गरेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महनिरीक्षक घनश्याम अर्याललाई सवारी साधनका चाबि हस्तान्तरण गरेका थिए ।

सो अवसरमा मुख्यमन्त्री गुरुङले प्रदेश अन्तर्गतका प्रहरी कार्यालयहरुलाई सवारी साधन तथा अन्य भौतिक स्रोत साधनहरुमा आत्मनिर्भर बनाई चुष्तदुरुष्त एवम् प्रभावकारी प्रहरी सेवा प्रवाहमा सहज हुनुका साथै प्रहरी कर्मचारीहरुको मनोबल समेत बृद्धि हुनेमा विश्वास व्यक्त गरे ।साथै कुनै पनि सरकार सफल हुनका लागि उसका संयन्त्रहरु स्रोतसाधनयुक्त एवं दक्षतापूर्ण हुनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै देशका कुना कन्दराहरुमा समेत अग्र पंक्तिमा रहि सरकारको प्रतिनिधित्व गर्ने प्रहरी संगठनको सामरिक विकास आफ्नो प्राथमिकतामा रहेको बताउँदै आगामी दिनमा समेत आवश्यक सहयोग गर्न प्रदेश सरकार तत्पर रहेको बताए ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दैै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरि बहादुर चुमानले प्रहरीको काम कारबाहीलाई थप प्रभावकारी, जनमुखी र समयसापेक्ष बनाउन स्रोतसाधनको अपरिहार्यता उल्लेख गरे । उनले प्रदेश सरकार आफ्नो स्थापनाकाल देखि नै प्रहरी ईकाइहरुलाई स्तरबृद्धि गरी साधनस्रोतले मजबुद बनाउन दृढ रहेको बताए ।

कार्यक्रममा धन्यवाद मन्तव्य राख्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री गुरुङ लगायत गण्डकी प्रदेश सरकार प्रति नै आभार व्यक्त गरे । साथै हस्तान्तरीत सवारी साधनहरुले गण्डकी प्रदेशको शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धान गर्ने जस्तो संवेदनशिल जिम्मेवारी वहन गर्दै पारदर्शीता, जवाफदेहिता र व्यावसायिक निष्ठापूर्वक कार्य सम्पादन गर्ने जस्ता प्रहरी कार्यमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा स्वागत मन्त्वय राख्दै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक किरण राणाले सुशासन र शान्ति सुरक्षाको पूर्ण अनुभुति गर्ने नागरिकहरुका चाहना पुरा गराउने कार्यमा प्रदेश सरकारबाट हस्तान्तरण गरिएका उक्त सवारी साधनहरुले सम्पूर्ण प्रहरी कर्मचारीको मनोवल विकास र नागरिक मैत्री प्रहरी सेवा सहितको गुणस्तरिय प्रहरी सेवा प्रदान गर्नमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रमुख सचिव विष्णु प्रसाद नेपाल, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी, संघीय प्रहरी ईकाइ कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर के.सी. लगायत पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रमुख तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: