गाईजात्रा पर्व सुरु, काठमाडौँ उपत्यकामा आज सार्वजनिक बिदा

Share:

काठमाडौँ । भदौ कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने गाईजात्रा पर्व देशभर आजबाट सुरु हुँदैछ ।

गाईजात्रामा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर परिक्रमा गराइन्छ र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगर परिक्रमा गराउँदा मृतकको आत्मा गाईको पुच्छर समाएर वैतरणी पार हुन्छ भन्ने धार्मिक विश्वास छ । विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा दिवंगत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।

राजा प्रताप मल्लले पुत्रशोकमा रहेकी आफ्नी रानीलाई अरु धेरैले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन वर्षभरि निधन भएका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउन आदेश दिएअनुसार गाईजात्रा सुरु भएको ऐतिहासिक मान्यता छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यंग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हास्यव्यंग्यको प्रचलन चलेको हो भन्ने जन श्रुति छ । प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिलसम्म पनि जारी रहेको छ ।

गाईजात्रा पर्व काठमाडौँ, ललितपुर, भक्तपुरका साथै काभ्रे, मकवानपुर, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, खोटाङ, भोजपुर, इलाम, सुनसरी, मोरङ, पर्सा, कास्की, पाल्पा, दाङलगायतका जिल्लामा पनि धुमधामका साथ मनाइन्छ । तर यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण अघिल्ला वर्षमा जस्तो भिडभाड नगर्न सरकारले आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयले यसअघि नै भिडभाड नगर्न र धर्मकर्मका कार्यमा तोकिएकाभन्दा बढी भेला नहुन अनुरोध गरेको छ । गाईजात्राका अवसरमा आज काठमाडौँ  उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: