
काठमाडौँ । नेपालमा कोरोना (कोभिड–१९) संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा पर्सामा थप २ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा पर्साको पोखरिया ९ का १८ वर्षियाा किशोरी र वीरगञ्ज ५ का ४६ वर्षीय पुरुष रहेका छन्।
साउन १९ गते झाडापाखालाबाट ग्रस्त किरोशीलाई उपचारका लागि नेशनल मेडिकल कलेज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। उनको मृत्युपछि गरिएको स्वाब परीक्षणमा कोरोना पोजिटिभ देखिएको हो।
यस्तै वीरगञ्ज ५ का पुरुषको साउन २१ गते अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। केही वर्षदेखि मधुमेहका रोगी ती पुरुष ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए।
१९ गते स्वाव संकलन गरिएकोमा त्यही दिन कोरोना पुष्टि भएको थियो। कोरोना पुष्टि भएपनि उनको आइसोलेसनमा राखेर उपचार सुरु गरिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ। हालसम्म पर्सामा मात्र १४ जनाको मृत्यु भइसकेको छ।
