
पोखरा । विभिन्न संघसंस्थाले वृक्षारोपण गरिने दिवस मनाउने गरे पनि यहाँको एउटा संस्थाले भने गत वर्ष रोपेका बिरुवा गोडमेलसँगै संरक्षण गरेर स्थापना दिवस मनाएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ कास्कीद्धारा सप्ताह व्यापीरुपमा मनाइरहेको वन दिवसका अवसरमा आज पोखरा २७ स्थित पन्थको सामुदायिक वनमा अघिल्लो वर्ष रोपिएका विरुवाको गोडमेल गरिएको हो ।
सामुदायिक वन महासंघ कास्की एवम् डिभिजन बन कार्यालय कास्कीको सहकार्यमा सो वनमा वृक्षारोपण गरिएको थियो । वन दिवस पारेर बिभिन्न जातका एक सय ५० विरुवा रोपिएको हो । रोपिएकामध्ये करीव ६० प्रतिशत बिरुवा सुरक्षित रहेका छन् ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य सरिता कुमालले वृक्षारोपण गर्नु आफैमा महत्वपूर्ण भएपनि लक्ष्य प्राप्तिका लागि संरक्षणको पाटो थप सशक्त बनाइनु पर्ने आवश्यकता औल्याए ।
“सामुदायिक बनको माध्येमबाट संरक्षण सहित सामाजिक विकासमा समेत योगदान पुगेको छ” उनले भने,“ बनको संरक्षण, सम्वद्र्धन एवम् उपयोगका लागि दिगो वन व्यवस्थापन अपरिहार्य छ ।”
अर्का केन्द्रीय सदस्य एवम् प्रचार प्रसार विभाग प्रमुख हरिप्रसाद बास्तोलाले सामुदायिक वनबाट काठ दाउरा बिक्री गरेर नभई पर्यापर्यटनको प्रवद्र्धन गरेर आयआर्जन गर्नेतर्फ लाग्नुको विकल्प नभएको बताए ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीले सामुदायिक वनको माध्येमबाट नेपाललाई विश्व सामु परिचित गराएको उल्लेख गर्दै सडक किनारा र खालीस्थानमा आयआर्जन गर्ने खालका उन्नत जातका विरुवा रोपेर हरियाली प्रवद्र्धनगर्ने तर्फ वन समुह लाग्नु पर्नेमा जोड दिए ।
सप्ताहव्यापी बन दिवसको उपलक्ष्यमा पोखरा १६ अर्मलास्थित छहरेखोला र पन्थको डाँडा सामुदायिक वनमा अघिल्लो वर्ष लगाइएका बिरुवाको गोलमेल र संरक्षण, पत्रकार सम्मेलन, कोरोना सचेतना, सहित वृक्षारोपण गर्ने कार्यक्रम तय गरिएको महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेले जानकारी दिए ।
दिपाङ्गतालको किनारास्थित दुई दशमलव २३ हेक्टर क्षेत्रफलमा फैलिएको सुन्दर एवम् रमणीयस्थानमा रहेको सो सामुदायिक वन समुहमा ८० घर उपभोक्ता रहेको समुहका अध्यक्ष निरलाल तझ्यायाले बताए ।
रुख काटेर नभई विलकाटेर आम्दानी गर्ने लक्ष्यका साथ अघि बढेको सो सामुदायिक वनमा रहेको वनभोजस्थलबाट एक वर्षको अवधिमा ५० हजार रुपैया आम्दानी भएको बताउँदै उनले कोरोना भाइरस संक्रमण फैलिन नदिन भएको बन्दाबन्दीको कारण यस वर्ष आम्दानी कम भएको बताए ।
सोही अवसरमा गत वर्ष पोखरा १६ अर्मलास्थित छहरेखोला सामुदायिक वनमा रोपिएका तेजपात, वडहर, निमारो लगायत विभिन्न जातका पाँच सय विरुवा रोपिएको थियो । सो स्थानमा साउन २१ गते गोडमेल गरिएको हो ।
रोपिएका बिरुवा मध्ये लगभग ६५ प्रतिशत बिरुवा हुर्केको उक्त वनमा प्राकृतिक रुपमा उत्पादन भएको औषधि जन्य सिल्टिउरको संरक्षण गर्ने तयारी गरिएको सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश दिनेश श्रेष्ठले जानकारी दिए ।
“समृद्धिका लागि सामुदायिक वन,उत्पादन र उत्पादकत्व वृद्धिमा योगदान” मुख्यनारा हरेको यस वर्ष वन दिवसका अवसरमा पोखरा २६ स्थित अमर ज्योति सामुदायिक वन समूह अन्तर्गतको नाङ्गो पाखोमा साउन २५ गते वृहत वृक्षारोपण गर्ने कार्यक्रम रहेको छ ।
