
स्याङ्जा । सलह किराको नियन्त्रणका लागी स्याङ्जाका केही पालिकाहरुले पुरस्कारको व्यवस्था गरेका थिए । आँधीखोला गाउँपालिकामा आज बिहिबार सलह छोप्ने ४ जना पुरस्कृत भएका छन् । सलह नियन्त्रणका लागी गाउँपालिकाले प्रोत्साहन स्वरूप प्रति केजी ३०० दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आँधीखोला गाउँपालिकाका ४ जनाले ९ किलो ३०० ग्राम सलह छोपेर आँधीखोला गाउँपालिकालाई बुझाएका छन् ।
बिहीवार दिउसो आँधीखोला गाउँपालिका वडा नं २ पोखरचौर बस्ने सन्दीप सापकोटा, सविना सापकोटा, टेक बहादुर भुजेल र सफल राना ले ९ किलो ३०० ग्राम कीरा छोपेर कृषि शाखामा बझाएपछि गाउँपालिकाले उनीहरूलाई २ हजार ७ सय ९० रुपैयाँ प्रदान गरेको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताए । अध्यक्ष पौडेलले सलह कीरा छिट्टै नियन्त्रण गर्न नसके यसले अन्न बाली सखाप पारेर खाद्यान्नको समस्या हुनसक्ने भएकोले किसानलाई जागरूक बनाउन सलह कीरा छोपेर ल्याउनेलाई पैसा दिएको जानकारी दिए ।
यस अघि पनि सलह छोपेर ल्याए बापत आँधीखोला गाउँपालिकाका ४ बालबालिकाल लाई १२० रुपैयाँ प्रदान गरिएको गाउँपालिकाका सूचना प्रविधी अधिकृत रोशन लामिछानेले बताए।
