
काठमाडौँ । भारतको केरलामा एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटना हुँदा दुई पाइलटसहित १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा क्याबिन क्रुका चार जना सदस्य सकुशल छन् ।
दुबईबाट केरला आएको उक्त विमान शुक्रबार बेलुका ७ बजेर ४१ मिनेटमा केरलाको कोझिकोड विमानस्थलमा दुर्घटना भएको हो । दुर्घटनामा विमान दुई टुक्रा भएको छ ।
विमानमा चालक दलका सदस्यसहित १९० जना सवार थिए । यात्रुहरुमा १० जना बच्चा पनि रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दुर्घटनामा घाइते भएका १२३ जना यात्रुहरुलाई अस्पताल भर्ना गरिएको छ । २० जना घाइते गम्भीर अवस्थाका छन् । सो विमानमा भिसाको म्याद सकिएका, जागिर गुमेका, घुम्न गएको बेला कोरोना महामारी सुरु भएपछि दुबईमै रोकिएका यात्रुहरु थिए ।
दुर्घटना भएपनि विमानमा आगो लागेको थिएन । दुर्घटनाको छानबिनका लागि दुईवटा कमिटी गठन गरिएको पनि बताइएको छ ।
