
पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो पोखरा महानगर पालिका वडा नं १६ का ५२ वर्षीय पुरुषको मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको हो ।
मृतक पुरुषमा श्वास प्रस्वासमा समस्या भइ आज नै प्रतिष्ठानको कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए । उनको आज दिउँसो १२ः१५ बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृतक पुरुषमा कोभिड १९ सँगै हाइपरटेन्सन र डाएवेटिजका बिरामी समेत रहेको अस्पतालका निर्देशक सह प्रा. डा. अर्जुन आचार्यले बताए ।
कोरोनाका कारण स्वास्थ्य प्रतिष्ठानमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । हिजो मात्रै सोही प्रतिष्ठानमा एक महिलाको मृत्यु भएको थियो ।
यससँगै पोखरामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ भने गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या १० पुगेको छ ।
महानगरमै फेरी थपिए ११ संक्रमित
यसैगरी पोखरामा शुक्रबार दिउँसो पनि ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार जारी गरेको तेस्रो चरणको विज्ञप्तिमा पोखराका वडा नं. १,२, ३, ५, ११, १४ र १६ गरी ७ वटा वडाका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख छ ।
जसमा बैंक, कन्सल्टेन्सी र मोबाइल पसलका व्यक्तिमा पनि संक्रमण देखिएको जनाइएको छ ।
सङ्क्रमित हुनेमा पोखरा– २ का कामना विकास बैङ्कमा दीप शाखामा कार्यरत २५ वर्षीय पुरुष, पोखरा– ३ का एभरेस्ट बैङ्क अमर सिंह चोक शाखामा कार्यरत २९ वर्षीय पुरुष, इन्जिनियरिङ कन्सल्टेन्सीमा कार्यरत पोखरा–१४ का ३५ वर्षीय पुरुष तथा पोखरा वडा नं १ का मोबाइल पसलका सञ्चालक १८ वर्षीय पुरुष रहेको निर्देशनालयले जनाएको छ ।
अन्य संक्रमितहरू कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।
यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या २ हजार ३६ पुगेको छ ।


