
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु पुष्टि भएको छ ।
शनिबार नवलपुर बिनयत्रिबेणी– ६ का ६२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको पनि निर्देशनालयले जानकारी दिएको छ ।
एक महिला स्वास्थ्यकर्मीसहित प्रदेशमा ५ संक्रमित थपिए
यसैगरी गण्डकी प्रदेशमा एक महिला स्वास्थ्यकर्मीसहित थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार बिहान गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ति अनुसार गण्डकी प्रदेशको कास्कीका ३ र नवलपुरका २ जना गरी ५ जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमण पुष्टि हुनेमा कास्कीको पोखरा महानगर–७ का ३७ वर्षीया महिला र ५३ वर्षीय पुरुष तथा ८ का ३८ वर्षीय पुरुष रहेका छन् ।
यस्तै नवलपुर कावासोती– २ की २१ वर्षीया महिला र मध्यविन्दु–४ की २० वर्षीया महिलामा पनि कोरोना देखिएको छ ।
निर्देशनालयका अनुसार नवलपुर मध्यविन्दुकी संक्रमित महिला कलेज अफ मेडिकल साइन्समा कार्यरत स्वास्थ्यकर्मी हुन् ।
संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जानकारी दिएको छ ।
यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।

